सीधै सामग्रीमा जाने

सृष्टि या संयोग?

आफसेआफ सफा हुने पाइलट ह्वेलको छाला

आफसेआफ सफा हुने पाइलट ह्वेलको छाला

 जहाजहरूको पिंधमा टाँसिने स-साना समुद्री जीवहरूले गर्दा नाविकहरूलाई जहाज चलाउन हम्मे-हम्मे परेको छ, जसको कारण जहाजको गति कम हुने, इन्धनको खपत बढी हुने अनि जहाजलाई केही वर्षभित्रै सफा गर्नुपर्नेजस्ता समस्या निम्तिएको छ। त्यसैले वैज्ञानिकहरू यसको समाधान प्रकृतिमा पाउन सकिन्छ कि भनेर अनुसन्धान गर्दै छन्‌।

 विचार गर्नुहोस्‌: अध्ययनहरूले देखाएअनुसार लामो पखेटा भएको पाइलट ह्वेलसित (ग्लोबसीफाला मेलास) गजबको क्षमता छ। यसको छाला आफसेआफ सफा हुन्छ। यसको छालाको सतहमा स-साना डिलहरू हुन्छन्‌ अनि ती डिलहरू एकदमै सानो हुने भएकोले त्यसमा समुद्री जीवहरूको लार्भा टाँसेर बस्न सक्दैन। ती डिलहरूबिचको भागचाहिँ एक किसिमको जेलले भरिएको हुन्छ, जसले समुद्री झारहरू अनि ब्याक्टेरियालाई नष्ट गर्छ। ह्वेल माछाले छाला फेर्दा यस्तो जेल निकाल्छ।

 वैज्ञानिकहरूले पाइलट ह्वेलको यस्तो क्षमताको नकल गरेर जहाजको पिंध सफा गर्ने एउटा उपाय निकाल्दै छन्‌। पहिले-पहिले फोहोर टाँस्न नदिने एक किसिमको रङ प्रयोग गरिन्थ्यो। तर समुद्री जीवहरूको लागि उक्‍त रङ विषालु हुने भएकोले सो रङको प्रयोगलाई हालसालै प्रतिबन्ध लगाइएको छ। अनुसन्धानकर्ताहरूले एउटा नयाँ समाधान निकालेका छन्‌। उनीहरूले निकालेको समाधानअनुसार सुरुमा जहाजको पिंधको सम्पूर्ण भागलाई जालीले छोपिन्छ। त्यस जालीमा भएको प्वालहरूबाट अहानिकारक रसायन निस्कन्छ, जुन रसायन पानीमा मिसिएपछि बाक्लो जेलजस्तो बन्छ अनि त्यो जेल छालाजस्तै फैलिएर जहाजको पिंधलाई ढाक्छ। लगभग ०.०३ इन्चको त्यो छाला बिस्तारै पातलो हुँदै जान्छ अनि जहाजको पिंधमा टाँसिएका फोहोरहरूलाई निकाल्दै बिलाउँदै जान्छ। त्यसपछि जहाजको पिंधलाई छोप्न अर्को ताजा जेल निस्कन्छ।

स-साना समुद्री जीवले जहाजको गति कम गर्छ र यसलाई निकाल्न पनि मुस्किल पर्छ

 ल्याबमा गरिएका परिक्षणहरूले देखाएअनुसार यस्तो किसिमको तरिका अपनाउँदा जहाजको पिंधमा जम्मा हुने फोहोर सय गुणा कम गर्न सकिन्छ। साथै अहिले जहाजलाई बन्दरगाहमा ल्याएर सफा गर्न चर्को मूल्य तिर्नुपर्ने भएकोले पछि जहाज कम्पनीलाई पनि ठूलो फाइदा पुग्नेछ।

 तपाईंको विचार कस्तो छ? आफसेआफ सफा हुने पाइलट ह्वेलको छाला क्रमविकासको उपज हो या सृष्टि?