सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ?

जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ

जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ

बाइबलको उत्पत्तिको किताबमा सृष्टिको विवरणबारे बताइएको छ। परमेश्‍वरले पहिलो मानिस आदमलाई यस्तो आज्ञा दिनुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले सङ्‌कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१६, १७) आदमले परमेश्‍वरको आज्ञा पालन गरेको भए मर्नुपर्ने थिएन बरु तिनी सधैंभरि सुन्दर बगैंचामा बाँच्न सक्थे भन्‍ने कुरा यी शब्दहरूबाट स्पष्ट हुन्छ।

तर दुःखको कुरा आदमले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे र सधैंभरि बाँच्ने मौका गुमाए। तिनकी पत्नी हव्वाले निषेध गरिएको फल तिनलाई दिंदा तिनले त्यो खाए। (उत्पत्ति ३:१-६) तिनको अनाज्ञाकारिताले आजसम्म हामीलाई असर गरेको छ। यस विषयमा प्रेषित पावलले यस्तो लेखे: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) त्यो “एकै जना मानिस” आदम थिए। तर पाप भनेको के हो अनि यसले कसरी हामीलाई मृत्युसम्म पुऱ्‍यायो?

जानाजानी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्नु पाप हो। आदमले पनि त्यही गरे। (१ यूहन्‍ना ३:४) अनि परमेश्‍वरले आदमलाई भन्‍नुभएझैं पापको सजाय मृत्यु हो। जबसम्म आदम र तिनका सन्तान परमेश्‍वरप्रति आज्ञाकारी हुन्थे तबसम्म तिनीहरू पापी हुँदैनथे अनि तिनीहरू मर्नु पनि पर्दैन थियो। परमेश्‍वरले मानिसलाई मर्नको लागि होइन बरु सधैंभरि बाँच्नको लागि सृष्टि गर्नुभएको थियो।

बाइबलले बताएझैं मृत्यु “सबै मानिसमा व्याप्त भयो” भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर मृत्युपछि के हाम्रो शरीरको कुनै भाग जीवितै रहिरहन्छ? थुप्रैले मानिससँग अमर आत्मा हुन्छ भनेर विश्‍वास गर्छन्‌। तर यसो हुँदो हो त परमेश्‍वरले आदमसँग झूट बोल्नुभएको हो। किन? यदि हामी मरिसकेपछि पनि हाम्रो शरीरको कुनै भाग अर्कै लोकमा बाँचिरहन्छ भने पापको सजाय मृत्यु हुने थिएन। बाइबल भन्छ: “परमेश्‍वरले झूट बोल्न असम्भव” छ। (हिब्रू ६:१८) वास्तवमा झूट बोल्ने त सैतान हो जसले हव्वालाई “तिमीहरू कदापि मर्दैनौ” भन्यो।—उत्पत्ति ३:४.

त्यसैले यस्तो प्रश्‍न खडा हुन्छ, यदि अमर आत्माको शिक्षा झूटो हो भने मृत्युपछि वास्तवमा हामीलाई के हुन्छ?

बाइबलले बुझ्न मदत गर्छ

सृष्टिसम्बन्धी उत्पत्तिको विवरणमा यस्तो लेखिएको छ: “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” हिब्रू भाषामा “जीवित प्राणी” भन्‍ने वाक्यांशलाई नेफेश a भनिन्छ। जसको शाब्दिक अर्थ “सास फेर्ने प्राणी” हो।—उत्पत्ति २:७.

मानिसहरूलाई अमर आत्मासहित सृष्टि गरिएको होइन भनी बाइबलले स्पष्ट पार्छ। बरु मानिस स्वयम्‌ “जीवित प्राणी” हो। त्यसैले जतिसुकै खोजे तापनि तपाईंले बाइबलमा “अमर आत्मा” भनेर कतै उल्लेख गरिएको पाउनुहुनेछैन।

बाइबलले मानिससँग अमर आत्मा छैन भनेर बताए तापनि थुप्रै धर्महरू किन अमर आत्माको शिक्षा सिकाउँछन्‌? जवाफको लागि हामी पुरातन समयको मिश्रको धार्मिक आस्थालाई विचार गरौं।

झूटो शिक्षा फैलिन थाल्छ

पाँचौं शताब्दीका ग्रीक इतिहासकार हेरोडोटसका अनुसार “अमर आत्मामा विश्‍वास गर्ने मानिसहरूमध्ये मिश्रीहरू पहिलो” थिए। साथै पुरातन समयका बेबिलोनीहरू पनि अमर आत्मामा विश्‍वास गर्थे। ईसापूर्व ३३२ सम्ममा ग्रीक दार्शनिकहरूले यो शिक्षालाई अङ्‌गाली सकेका थिए। त्यसपछि यो शिक्षा पूरै ग्रीक साम्राज्यमा फैलियो।

जतिसुकै खोजे तापनि तपाईंले बाइबलमा “अमर आत्मा” भनेर कतै उल्लेख गरिएको पाउनुहुनेछैन

प्रथम शताब्दीका दुई प्रमुख यहूदी गुट एसिन्स र फरिसीहरूले शरीर मरे पनि आत्मा जीवित रहन्छ भनेर सिकाए। यहूदी विश्‍वकोश यसो भन्छ, “ग्रीक विचारधाराको प्रभाव अनि अझ विशेषगरि प्लेटोको शिक्षाले गर्दा यहूदीहरूले अमर आत्माको शिक्षामा विश्‍वास गर्न थाले।” त्यसैगरि प्रथम शताब्दीका इतिहासकार जोसेफसले यो शिक्षा पवित्र धर्मशास्त्रमा आधारित नभई “ग्रीसका मानिसहरूको विश्‍वास”-मा आधारित छ भनी बताए। तिनको विचारमा यस्तो शिक्षा ग्रीक दन्त्य कथाको उपज थियो।

ग्रीक संस्कृतिको प्रभाव फैलँदै गएपछि ख्रीष्टियन भनौंदाहरूले पनि यस्तो झूटो शिक्षालाई अङ्‌गाल्न थाले। इतिहासकार योना लेन्डरिनका अनुसार “हाम्रो आत्मा एक समय उत्तम संसारमा थियो र अहिले पतित संसारमा छ भन्‍ने प्लेटोको विचारधारालाई ख्रीष्टियन धर्ममा मिसाउन सजिलो भयो।” यसरी अमर आत्माको झूटो शिक्षा चर्चजगत्‌मा व्याप्त भयो र यो चर्चको शिक्षाको अभिन्‍न भाग बन्‍न पुग्यो।

“सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ”

प्रथम शताब्दीमा प्रेषित पावलले यस्तो चेतावनी दिए: “भविष्यमा केही मानिसहरूले विश्‍वास त्याग्नेछन्‌ भनेर परमेश्‍वरको प्रेरित वाणीले तोकेरै बताएको छ। किनकि तिनीहरूले भ्रामक प्रेरित वाणीहरू अनि दुष्ट स्वर्गदूतहरूका शिक्षाहरूमा ध्यान दिनेछन्‌।” (१ तिमोथी ४:१) यी शब्दहरू साँच्चै कति सत्य साबित भएका छन्‌! अमर आत्माको शिक्षा पनि ‘दुष्ट स्वर्गदूतहरूको शिक्षा’ हो। यो शिक्षा बाइबलमा नभई पुरातन गैर-ख्रीष्टियन धर्म अनि दार्शनिकहरूको शिक्षामा आधारित छ।

खुसीको कुरा येशूले यसो भन्‍नुभयो: “तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (यूहन्‍ना ८:३२) बाइबलले सिकाउने सत्यको ज्ञान लिनुहोस्‌। यसरी तपाईं परमेश्‍वरको अनादर गर्ने झूटो धर्महरूको शिक्षा र प्रचलनबाट स्वतन्त्र हुन सक्नुहुनेछ। साथै परमेश्‍वरको वचनले तपाईंलाई मृत्युसित सम्बन्धित विभिन्‍न रीतिथिति र अन्धविश्‍वासबाट पनि मुक्‍त गर्नेछ।—“ मरिसकेकाहरू कहाँ छन्‌?” भन्‍ने पेटी हेर्नुहोस्‌।

पृथ्वीमा हाम्रो आयु ७० वा ८० वर्षको होस्‌ त्यसपछि हामी अर्कै लोकमा सधैंभरि बाँचोस्‌ भन्‍ने सृष्टिकर्ताको उद्देश्‍य थिएन। उहाँको सुरुको उद्देश्‍य त हामी आज्ञाकारी भएर यसै पृथ्वीमा सधैंभरि बाँचोस्‌ भन्‍ने थियो। यो मानिसजातिप्रति परमेश्‍वरको प्रेमको प्रमाण हो अनि उहाँलाई यो उद्देश्‍य पूरा गर्नदेखि कसैले रोक्न सक्दैन। (मलाकी ३:६) भजनहारले हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌, “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

 

a केही नेपाली भाषाको बाइबल अनुवाद जस्तै, ट्रिनिटेरियन बाइबल सोसाइटी-मा नेफेश-लाई “जिउँदो प्राणी” भनेर अनुवाद गरिएको छ।

b A Lawyer Examines the Bible