सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आशा—के यसको कुनै महत्त्व छ?

आशा—के यसको कुनै महत्त्व छ?

आशा—के यसको कुनै महत्त्व छ?

डानिएलले भर्खर दस वर्षमा पाइला टेकेका थिए तर उनले क्यान्सरसित जुधेको एक वर्ष भइसकेको थियो। उनका साथीभाइ अनि आफन्तहरूले जस्तै उनको डाक्टरले पनि आशा मारिसकेका थिए। तर डानिएलको मनमा भने आशा जीवितै थियो। आफू हुर्किसकेपछि अनुसन्धाता बन्‍ने र कुनै दिन क्यान्सरको उपचार पत्ता लगाउने उनको विश्‍वास थियो। उनी विशेष गरेर आफूलाई लागेको क्यान्सर रोगको विशेषज्ञ आउने खबरले आशावादी थिए। जब विशेषज्ञ आइपुग्ने दिन आयो, खराब मौसमको कारण बाध्य भएर विशेषज्ञले आफ्नो भ्रमण रद्द गर्नुपऱ्‍यो। डानिएलको मन मऱ्‍यो। जीवनमा पहिलो पटक डानिएल उत्साहहीन बन्‍न पुगे। केही दिनमै उनको मृत्यु भयो।

डानिएलको यो कथा एक जना स्वास्थ्य कार्यकर्ताले बताएका थिए जसले स्वास्थ्यमा आशा र आशाविहीनताको भूमिकाबारे अध्ययन गरेका थिए। तपाईंले पनि यस्तै कथाहरू सुन्‍नुभएको होला। उदाहरणको लागि, कुनै एक वृद्ध जीवन-मरणसित सङ्‌घर्ष गर्दैछन्‌ तर उनी धेरै लामो समयदेखि व्यग्रतासाथ आफ्नो जीवनको कुनै महत्त्वपूर्ण घडीको प्रतीक्षामा छन्‌—सम्भवतः त्यो कुनै प्रियजनसितको भेट अथवा कुनै वार्षिकोत्सव हुन सक्छ। जब त्यो महत्त्वपूर्ण घडी उनको जीवनमा आउँछ अनि जान्छ, तुरुन्तै उक्‍त वृद्धिमाथि मृत्यु आइपर्छ। यस्ता घटनाहरूमा कुन कुराले भूमिका खेलेको हुन्छ? कसै-कसैले विश्‍वास गरेजस्तै के आशा साँच्चिकै शक्‍तिशाली हुन सक्ला?

आशावादी हुनु, आशा र सकारात्मक भावनाहरूले वास्तवमा मानव जीवन तथा स्वास्थ्यमा शक्‍तिशाली असर पार्न सक्छ भन्‍ने चिकित्सासम्बन्धी अनुसन्धाताहरू दिन-प्रतिदिन बढ्‌दै छन्‌। तर यस्ता धारणाहरूमा त्यत्ति एकमत छैन। केही अनुसन्धाताहरूले यस्ता सबै दाबीहरूलाई अवैज्ञानिक दन्त्यकथाको संज्ञा दिंदै नकार्ने गरेका छन्‌। तिनीहरू शारीरिक रोगव्याधिको लागि शारीरिक कारण मात्र हुन सक्ने विचारधारा राख्न रुचाउँछन्‌।

निस्सन्देह, आशाको महत्त्वबारे उठ्‌ने गरेका शङ्‌का उपशङ्‌काहरू नौला भने होइनन्‌। हजारौं वर्ष पहिले युनानी दर्शनशास्त्री अरस्तुलाई आशाको परिभाषा दिन आग्रह गरियो र उनले यसो भने: “यो एउटा दिवास्वप्न मात्र हो।” अनि अमेरिकी राजनीतिज्ञ बेन्जामिन फ्रान्कलीनले “आशामा बाँच्ने मानिस भोकभोकै मर्नेछ” भनी तीखो व्यङ्‌ग गरेको धेरै समय भएको छैन।

त्यसोभए, आशाबारे तथ्य कुरा चाहिं के हो त? के यो सधैं मनले चिताउने कुरा अर्थात्‌ कुनै व्यक्‍तिले कल्पनामा खोज्ने सान्त्वना मात्र हो? यीबाहेक आशालाई अझै फराकिलो दृष्टिकोणले हेर्ने अर्थात्‌ हाम्रो सुस्वास्थ्य अनि खुसीको लागि यसको आवश्‍यकता छ भनेर भन्‍न सक्ने के कुनै जायज कारण हामीसित छ? (g04 4/22)