हाम्रो अभिलेखालयबाट
राजा अत्यन्तै हर्षित भए!
सन् १९३६, अगस्तको कुरा हो। स्थानचाहिं दक्षिण अफ्रिकी देश स्वाजिल्याण्डका राजा बस्ने गाउँ। दुई जना भाइहरू रोबर्ट र जर्ज निस्बेटले ध्वनि यन्त्र जडान गरिएको गाडीबाट राज्य धुन र भाइ जे. एफ. रदरफोर्डको भाषण भर्खरै बजाएका थिए। यो सुनेर राजा शोबुजा द्वितीय अत्यन्तै हर्षित भए। जर्जले भने: “राजाले हाम्रो रेकर्ड प्लेयर, रेकर्डहरू अनि लाउड स्पिकर किन्न चाहनुभयो। हामीलाई त आपतै पऱ्यो!”
रोबर्टले अलि अप्ठेरो मान्दै यी सामान अरू कसैको भएकोले बेच्न मिल्दैन भने। कसको हो भनेर राजाले सोधिहाले!
रोबर्टले यस्तो जवाफ दिए: “अर्कै राजाको।” त्यसपछि शोबुजाले ती राजा को हुन् भनेर सोधे। रोबर्टले भने: “परमेश्वरको राज्यको राजा येशू ख्रीष्ट।”
येशूप्रति आदर देखाउँदै राजा शोबुजाले भने: “ओहो! उहाँ त महान् राजा हुनुहुन्छ। म उहाँको सामान लिन चाहन्नँ।”
रोबर्टले लेखे: ‘राजाको स्वभाव देखेर म असाध्यै प्रभावित भएँ। उहाँ अङ्ग्रेजी भाषा राम्रोसँग बोल्नुहुन्थ्यो तर उहाँको बोलीमा घमन्डको कुनै छनक थिएन। उहाँ स्पष्टवादी अनि कुरा गर्न सजिलो व्यक्ति हुनुहुन्थ्यो। म उहाँको अफिसमा ४५ मिनेटजति बसें। त्यसबेला जर्जचाहिं बाहिर राज्य धुन बजाउँदै थिए।’
रोबर्टले अझै यसो भने: ‘त्यही दिन हामी स्वाजि नेसनल स्कूलमा पनि गयौं। त्यहाँ एकदमै रमाइलो भयो। हामी त्यो दिन कहिल्यै बिर्सन सक्दैनौं। प्रधानाध्यापकलाई साक्षी दिंदा उहाँले उत्सुक हुँदै सुन्नुभयो। हामीले उहाँलाई रेकर्ड प्लेयरबारे बतायौं र स्कूलका सबैलाई रेकर्ड सुनाउने प्रस्ताव राख्यौं। त्यो सुनेर उहाँ एकदमै खुसी हुनुभयो। त्यसपछि उहाँले झन्डै १०० जना विद्यार्थीलाई चौरमा ती रेकर्डहरू सुन्न बोलाउनुभयो। त्यो उच्च माध्यामिक स्कूलमा केटाहरूलाई कृषि, बगैंचा स्याहार्ने, सिकर्मी, डकर्मी, अङ्ग्रेजी र गणित विषय सिकाइँदो रहेछ। केटीहरूलाई चाहिं नर्सिङ, घरायसी काम र अन्य उपयोगी सीप सिकाइँदो रहेछ। त्यो स्कूल राजा शोबुजाकी हजुरआमाले स्थापना गरेकी रहिछन्।
राजा शोबुजाले सन् १९३३ तिरदेखि नै आफ्नो गाउँमा आएका अग्रगामीहरूको कुरा सुन्न थालेका थिए। एक पटक तिनले आफ्ना १०० जना अङ्गरक्षकलाई राज्य सन्देशका रेकर्डहरू सुन्न भेलासमेत गरेका थिए। तिनी हाम्रा पत्रिकाको ग्राहक बने अनि भाइहरूसित भएका प्रकाशनहरू पनि तिनले स्वीकारे। थोरै समयमै राजा शोबुजाले हाम्रा धेरैजसो प्रकाशन जम्मा गरेर पुस्तकालय नै बनाइसकेका थिए! दोस्रो विश्वयुद्धको दौडान बेलायतले हाम्रा प्रकाशनहरूमा प्रतिबन्ध लगाएको बेलामा समेत तिनले ती प्रकाशनहरू आफूसित सुरक्षित राखे।
राजा शोबुजा द्वितीयले वर्षौंसम्म यहोवाका साक्षीहरूलाई आफ्नो गाउँ लोबाम्बामा स्वागत गरे। बाइबल भाषणहरू सुन्नको लागि तिनले पादरीहरूलाई समेत बोलाए। एक पटक स्थानीय साक्षी भाइ हेल्भी मशाजीले मत्ती २३ अध्यायबाट भाषण दिंदै गर्दा केही पादरी रिसले चूर भएर जुरुक्क उठे अनि ती भाइलाई जबरजस्ती रोक्न खोजे। तर राजाले ती पादरीहरूलाई रोके अनि भाइ मशाजीलाई आफ्नो भाषण अघि बढाउन भने। त्यति मात्र होइन तिनले उपस्थित सबैलाई भाषणमा उल्लेख गरिएका सबै बाइबल पद लेख्न आदेश दिए।
अर्को एक पटक एक जना अग्रगामी भाइको भाषण सुनेपछि उपस्थित चार जना पादरीले यस्तो घोषणा गरे: “हामी अबदेखि पादरी होइनौं, यहोवाका साक्षी हौं।” त्यसपछि तिनीहरूले ती भाइलाई राजा शोबुजासित भएको जस्तै किताबहरू छन् कि भनेर सोधे।
सन् १९३० को दशकदेखि १९८२ मा मृत्यु नहोउन्जेल राजा शोबुजाले यहोवाका साक्षीहरूप्रति आदर देखाए। स्वाजि परम्परा र उत्सवहरूमा भाग नलिए तापनि साक्षीहरूले कुनै सतावट भोग्नु परेन। त्यसकारण राजाप्रति कृतज्ञ हुने जायज कारण साक्षीहरूसित थियो अनि तिनको मृत्यु हुँदा साक्षीहरूले ठूलो शोक मनाए।
सन् २०१३ को सुरुतिर स्वाजिल्याण्डमा ३,००० भन्दा धेरै राज्य उद्घोषक थिए। त्यहाँको जनसङ्ख्या दस लाख जति थियो। त्यसैले एक जना प्रकाशकले ३८४ जनालाई प्रचार गर्नुपर्थ्यो। त्यहाँ ९० वटा मण्डलीमा २६० भन्दा धेरै अग्रगामीले सेवा गरिरहेका थिए। सन् २०१२ को स्मरणार्थ उत्सवमा ७,४९६ जना उपस्थित भएका थिए। त्यहाँ अझै वृद्धि हुने सम्भावना छ भनेर यसले देखाउँछ। यसको बलियो जग बसाल्नुमा सन् १९३० को दशकतिर त्यहाँ गएका अग्रगामीहरूको ठूलो हात छ।—दक्षिण अफ्रिकाको हाम्रो अभिलेखालयबाट।