सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलका सुसमाचारका पुस्तकहरूमा तपाईंले भरोसा गर्न सक्ने कारण

बाइबलका सुसमाचारका पुस्तकहरूमा तपाईंले भरोसा गर्न सक्ने कारण

बाइबलका सुसमाचारका पुस्तकहरूमा तपाईंले भरोसा गर्न सक्ने कारण

“तिनीहरू अत्यन्तै सफल भएका छन्‌। तिनीहरूबाटै उत्प्रेरित भएर लाखौं खर्च लाग्ने फिल्महरू बनाइए . . . सर्वाधिक बिक्री हुने पुस्तकहरू लेखिए। ख्रीष्टियान गुटहरूले तिनीहरूलाई अँगालेका छन्‌। तिनीहरूले गर्दा नानाथरिका धर्म र शंकास्पद सिद्धान्तहरू देखा परेका छन्‌।”—ब्राजिलको खबरपत्रिका सुपर इन्तेरेसान्ते

यस्तो बखान के को लागि? बिसौं शताब्दीको मध्यतिर मिस्रको नाज हमादी र अन्य ठाउँमा नक्कली सुसमाचारका पुस्तकहरू, धर्मपत्रहरू तथा एपोक्यालिप्स अर्थात्‌ संसारको अन्तबारेका लेखोटहरू फेला परे। यिनैसित सम्बन्धित हाल सबैले चासो दिने र सबैलाई मनपर्ने कामबारे यस्तो बखान गरिएको थियो। यी र यस्ता अन्य कागजातलाई सामान्यतया नस्टिक वा एपोक्रिफल लेखोटहरू भनिएको छ।  a

षड्यन्त्र पो गरिएको थियो कि?

बाइबल र कट्टरपन्थी धर्महरूप्रति मानिसहरू सामान्यतया शंकालु भएको समयमा पनि नस्टिक वा एपोक्रिफल लेखोटहरूले थुप्रैबाट राम्रो प्रतिक्रिया पाएको देखिन्छ। थुप्रैले येशू ख्रीष्टको शिक्षा र ख्रीष्टियान धर्मलाई हेर्ने दृष्टिकोणमा यी लेखोटहरूले ठूलो प्रभाव पारेको छ। एउटा पत्रिकाले बतायो: “थोमाको सुसमाचारको पुस्तक र अरू एपोक्रिफल [लेखोटहरूले] अहिले धमाधम बढिरहेका त्यस्ता मानिसहरूको मन छुन्छ जो आध्यात्मिकताको लागि उत्सुक हुन्छन्‌ तर धर्ममा विश्‍वास गर्दैनन्‌।” ब्राजिलमा मात्र “झन्डै ३० धार्मिक समूहरूको विश्‍वास एपोक्रिफल लेखोटहरूमा आधारित छ” भन्‍ने अनुमान लगाइएको छ।

यी कागजातहरू फेला परेपछि चौथो शताब्दीमा क्याथोलिक चर्चले येशूबारे सत्य कुरा लुकाउन षड्‌यन्त्र गऱ्‍यो भन्‍ने धारणा लोकप्रिय भयो। उक्‍त चर्चले एपोक्रिफल लेखोटहरूमा बताइएको येशूको जीवनका केही पक्षहरू दबायो र अहिले हामीसित भएका चार सुसमाचारका पुस्तकहरूमा फेरबदल गऱ्‍यो भन्‍ने धारणा लोकप्रिय भयो। यसैबारे धर्मसम्बन्धी प्रोफेसर इलेन पेगल्ज यसो भन्छिन्‌: “हामीले भन्‍ने गरेको ख्रीष्टियान धर्म र चिन्‍ने गरेको ख्रीष्टियान परम्पराले वास्तवमा दर्जनौं स्रोतबाट छानिएको एउटा सानो निश्‍चित स्रोतको मात्र प्रतिनिधित्व गर्छ भनेर अहिले बुझ्न थालेका छौं।”

पेगल्जजस्ता विद्वानहरूको विचारमा ख्रीष्टियान विश्‍वासको स्रोत बाइबल मात्र होइन, एपोक्रिफल लेखोटहरूजस्ता अरू स्रोत पनि छन्‌। उदाहरणको लागि बी.बी.सी. -को एउटा कार्यक्रममा ( Bible Mysteries) “वास्तविक मरियम मग्दलिनी” विषय प्रस्तुत गरिएको थियो। उक्‍त प्रस्तुतिमा एपोक्रिफल लेखोटहरूमा मरियमलाई “अन्य चेलाहरूकी गुरु र आध्यात्मिक पथप्रदर्शकको रूपमा प्रस्तुत गरिएको र उनी चेला मात्र होइनन्‌; प्रेरितहरूकी पनि प्रेरित थिइन्‌” भनिएको कुरा बताइएको थियो। मरियम मग्दलिनीको अनुमानित भूमिकाबारे टिप्पणी गर्दै ब्राजिलको खबरपत्रिकामा ( O Estado de São. Paulo) ख्वान्‌ आर्यास्‌ लेख्छन्‌: “येशूले स्थापित गरेको ख्रीष्टियान गतिविधि ‘महिलावादी’ थियो भनेर आज हरेक कुराले हामीलाई विश्‍वस्त पार्छ। किनभने स्त्रीहरूका घर सुरुका घरेलु चर्चहरू थिए जहाँ तिनीहरूले पादरी र विशपको रूपमा सेवा गर्थे।”

थुप्रैलाई एपोक्रिफल स्रोतहरू बाइबलको स्रोतभन्दा कता हो कता गहिकिलो लाग्न सक्छ। तर यसले कतिपय महत्त्वपूर्ण प्रश्‍नहरू उठाउँछ: “के एपोक्रिफल लेखोटहरू ख्रीष्टियान विश्‍वासको वैधानिक स्रोत हुन्‌? ती लेखोटहरू बाइबलको सुस्पष्ट शिक्षासित बाझिंदा तपाईंले कुन स्रोतमा विश्‍वास गर्नुपर्छ? बाइबलमा कि एपोक्रिफल किताबहरूमा? चौथो शताब्दीमा के साँच्चै षड्‌यन्त्र गरेर येशू, मरियम मग्दलिनी र अरूबारे महत्त्वपूर्ण जानकारी हटाउन यी किताबहरू दबाइएको र चार सुसमाचारका पुस्तकमा फेरबदल गरिएको थियो? यी प्रश्‍नको जवाफ पाउन आउनुहोस्‌ चार सुसमाचारका पुस्तकमध्ये एउटालाई विचार गरौं। त्यो हो—यूहन्‍नाको सुसमाचार।

यूहन्‍नाको सुसमाचारले दिएको प्रमाण

यूहन्‍नाको सुसमाचारको एउटा महत्त्वपूर्ण अंश २० औं शताब्दीको सुरुतिर मिस्रमा फेला पारियो। यसलाई पपाइरस राइलान्ड्‌ज 457 (P52) भनेर चिनिन्छ। यसमा अहिलेको बाइबलको यूहन्‍ना १८:३१-३३, ३७, ३८ का कुरा छन्‌ र यसलाई इङ्‌गल्यान्डको, म्यान्चेस्टरस्थित जोन राइलान्ड्‌ज लाइब्रेरीमा संरक्षण गरिएको छ। यो ख्रीष्टियान युनानी धर्मशास्त्रको सबैभन्दा पुरानो पाण्डुलिपिको भाग हो। थुप्रै विद्वानहरूको विश्‍वासअनुसार यो भाग इ. सं. १२५ मा अर्थात्‌ यूहन्‍नाको मृत्यु भएको केवल २५ वर्ष पछि लेखिएको थियो। तर अचम्मको कुरा यसमा लेखिएका कुरा पछिका पाण्डुलिपिहरूसित झन्डै दुरुस्तै मेल खान्छ। तथ्य कुरा के हो भने त्यतिन्जेल यूहन्‍नाको सुसमाचारको यो पुरातात्त्विक महत्त्वको प्रतिलिपि मिस्रमा पुगिसक्नुले बाइबलले संकेत गरेअनुसार यूहन्‍नाको सुसमाचार यूहन्‍ना आफैले प्रथम शताब्दीमा लेखेका थिए भन्‍ने कुरालाई समर्थन गर्छ। त्यसैले यो पुस्तक प्रत्यक्षदर्शीले नै लेखेका हुन्‌।

अर्कोतर्फ एपोक्रिफल लेखोटहरू जम्मै दोस्रो शताब्दी यता अर्थात्‌ तिनीहरूमा बताइएका घटनाहरू भइसकेको सय वर्ष वा त्यसभन्दापछि मात्र लेखिएका हुन्‌। एपोक्रिफल लेखोटहरू अघि-अघिका लेखोटहरू वा परम्पराहरूमा आधारित छन्‌ भनेर कतिपय विशेषज्ञहरू तर्क गर्न खोज्छन्‌। तर त्यसको कुनै प्रमाण छैन। त्यसैले यस्तो प्रश्‍न सोध्नु उपयुक्‍त छ: तपाईं प्रत्यक्षदर्शीले दिएको प्रमाणमा विश्‍वास गर्नुहुन्छ कि घटना भएको सयौं वर्षपछिका मानिसहरूले दिएको प्रमाणमा? जवाफ दिनै पर्दैन।  b

येशूको जीवनको केही खास विवरणलाई दबाउन बाइबलको सुसमाचारका पुस्तकहरूमा फेरबदल गरिएको छ भन्‍ने भनाइ नि? उदाहरणको लागि तथ्यलाई बङ्‌याउन यूहन्‍नाको सुसमाचारलाई चौथो शताब्दीमा हेरफेर गरियो भन्‍ने कुराको के कुनै प्रमाण छ? यस प्रश्‍नको जवाफ पाउन यो तथ्य नबिर्सनुहोस्‌—आधुनिक बाइबलका प्रमुख स्रोतहरूमध्ये एउटा भ्याटिकन 1209 भनेर चिनिने चौथो शताब्दीको पाण्डुलिपि हो। चौथो शताब्दीमा गरिएको फेरबदल अहिले हाम्रो बाइबलमा छ भने त्यसलाई भ्याटिकन 1209 पाण्डुलिपिसित दाँज्दा देखिहालिन्छ। खुसीको कुरा, इ. सं. १७५ देखि २२५ तिरको बोदमर 14, 15 (P75) भनेर चिनिने अर्को पाण्डुलिपिमा लूका र यूहन्‍नाका प्रायजसो अंश छन्‌। अनि विशेषज्ञहरूअनुसार यो पाण्डुलिपिका शब्दहरू र भ्याटिकन 1209 का शब्दहरू आपसमा एकदमै मेल खान्छन्‌। अर्को शब्दमा भन्‍नुपर्दा बाइबलको सुसमाचारका पुस्तकहरूमा त्यस्तो कुनै उल्लेखनीय परिवर्तन गरिएको छैन। यसको प्रमाण भ्याटिकन 1209 पाण्डुलिपि छ।

चौथो शताब्दीमा यूहन्‍नाको सुसमाचार वा अरू सुसमाचारहरूमा फेरबदल गरिएको पुष्टि गर्ने कुनै प्रमाण, कागजपत्र वा अन्य त्यस्तो कुनै कुरा छैन। मिस्रको ओक्सिरिङ्‌कसमा फेला पारिएका पाण्डुलिपि अंशहरूको जाँच गरिसकेपछि क्याम्ब्रिज युनिभर्सिटीका डा. पिटर एम. हेड लेख्छन्‌: “सामान्यतया यी पाण्डुलिपिहरू र आधुनिक आलोचनात्मक संस्करण आधारित पाण्डुलिपिहरू [चौथो शताब्दीदेखि यता महत्त्व जनाउन ठूला अक्षरहरूमा लेखिएका पाण्डुलिपिहरू] आपसमा मेल खान्छन्‌। त्यसैले सुरुमा नयाँ करारका पदहरूको प्रतिलिपि बनाउँदा प्रस्ट्याउनुपर्ने नयाँ कुरा केही पनि थिएन।”

हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?

सुसमाचारका चारवटा सक्कली पुस्तकहरू मत्ती, मर्कूस, लूका र यूहन्‍नालाई कम्तीमा पनि दोस्रो शताब्दीको बीचसम्म विश्‍वभरका ख्रीष्टियानहरूले स्वीकारे। इ. सं. १६० देखि १७५ बीच संकलन गरिएको र विस्तृत रूपमा प्रयोग भएको टाशेनको थिआटेसारोन (ग्रीक शब्दको अर्थ हो, “चारमार्फत”) सुसमाचारका चारवटा सक्कली पुस्तकहरूमा मात्र आधारित थियो, कुनै नस्टिक “सुसमाचारहरू”-मा होइन। (“प्रारम्भिक समयमा सुसमाचारका पुस्तकहरूको बचाउ” शीर्षकको पेटी हेर्नुहोस्‌।) साथै, दोस्रो शताब्दीको अन्ततिरका आइरेनियसको अवलोकन पनि उल्लेखनीय छ। पृथ्वीको चार दिशा अनि चार मुख्य बतास भएजस्तै सुसमाचारका पुस्तक पनि चारैवटा हुनुपर्छ भनी तिनले बताए। तिनको यो तुलना सही नहोला, तर तिनको भनाइले त्यतिबेला सुसमाचारका सक्कली पुस्तकहरू चारवटा मात्र थिए भन्‍ने कुराको समर्थन गर्छ।

यी सब तथ्यले के देखाउँछ? आज हामीसित भएको सुसमाचारका चारवटा पुस्तकलगायत ख्रीष्टियान युनानी धर्मशास्त्र दोस्रो शताब्दी यता जस्ताको त्यस्तै रहँदै आएको छ, त्यसमा कुनै परिवर्तन भएको छैन। परमेश्‍वरबाट प्रेरणा भएको धर्मशास्त्रको कुनै भागलाई फेरबदल गर्न वा दबाउन चौथो शताब्दीमा षड्यन्त्र भएको थियो भनेर विश्‍वास गर्नुपर्ने कुनै ठोस कारण छैन। बरु बाइबलविद्‌ ब्रुस मेत्स्‌गरले लेखेजस्तै “दोस्रो शताब्दीको अन्तसम्ममा . . . भूमध्यसागरभरि मात्र होइन; बेलायतदेखि मेसोपोटामियासम्म विश्‍वासीहरूको विविध र छरिएका मण्डलीहरूमाझ नयाँ करारको प्रायः अंश उपलब्ध भइसक्यो भन्‍ने कुरामा सबै जना एकमत थिए।”

प्रेरित पावल र प्रेरित पत्रुस परमेश्‍वरको वचनका जोडदार समर्थक थिए। ती दुवैले सँगी ख्रीष्टियानहरूलाई उनीहरूले सिकेका कुराभन्दा अरू कुनै पनि कुरा नस्वीकार्नू वा विश्‍वास नगर्नू भनेर कडा चेतावनी दिए। उदाहरणको लागि पावलले तिमीथीलाई लेखे: “तिमोथी, जे तिमीलाई सुम्पिएको छ, त्यो सुरक्षित राख। भक्‍तिहीन गनथन र खण्डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्याग गर। यी कुराहरूका पछि लागेर कति जना आफ्नो विश्‍वासको लक्ष्यबाट चुकेर गएका छन्‌।” पत्रुसले यस्तो ठोकुवा गरे: “हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्‍ति र आगमनको समाचार दिंदा धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरूको हामीले अनुकरण गरेनौं, तर उहाँको वैभवशाली रूप हाम्रा आँखैले देख्ने हामी साक्षी हौं।”—१ तिमोथी ६:२०, २१, NRV; २ पत्रुस १:१६.

शताब्दियौंअघि अगमवक्‍ता यशैयाले यसो भन्‍ने प्रेरणा पाए: “घाँस सुकिहाल्छ, फूल ओइलाइहाल्छ तर हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ।” (यशैया ४०:८) “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भनेर पवित्र धर्मशास्त्र लेख्न प्रेरणा दिनुहुनेले नै वर्षौंदेखि त्यो धर्मशास्त्र जोगाउनुभएको छ भनेर हामी पनि यशैयाजस्तै विश्‍वस्त हुन सक्छौं।—१ तिमोथी २:४. ( w10-E 03/01)

[फुटनोट]

a “नस्टिक” र “एपोक्रिफल” क्रमशः “गोप्य ज्ञान” र “होसियारीसाथ लुकाइएका” अर्थ दिने युनानी शब्दहरूबाट आएका पदावली हुन्‌। यी पदावली किर्ते वा नक्कली लेखोटहरूलाई जनाउन प्रयोग गरिन्छ जुन लेखोटहरूले ख्रीष्टियान युनानी धर्मशास्त्रका सक्कली किताबहरूमा भएका सुसमाचारका पुस्तकहरू, प्रेरितका कामहरू, पत्रहरू र अन्य प्रकटित अभिव्यक्‍तिहरूको नक्कल गर्ने प्रयास गरेका छन्‌।

b एपोक्रिफल लेखोटहरूको सन्दर्भमा अर्को समस्या भनेको एकदमै कम प्रतिहरू मात्र बाकी रहनु हो। माथि बताइएको मरियम मग्दलिनीको सुसमाचार-को तीनवटा भाग मात्र छन्‌—दुइटा छोटो भाग र अर्को एउटा अलि लामो भाग तर त्यसमा पनि मूल लेखोटको आधा जति छैन। त्यसबाहेक उपलब्ध पाण्डुलिपिहरूबीच पनि थुप्रै भिन्‍नता छन्‌।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

इ. सं. दोस्रो शताब्दीतिर लेखिएको पपाइरस राइलान्ड्‌ज 457 (P52) मा भएको यूहन्‍नाको सुसमाचारको अंश मूल लेखोटभन्दा केही दशकपछि मात्र लेखिएको थियो

[पृष्ठ ११-मा भएको पेटी/चित्रहरू]

प्रारम्भिक समयमा सुसमाचारका पुस्तकहरूको बचाउ

सुसमाचारका पुस्तकहरू आपसमा बाझिन्छन्‌ त्यसैले तिनमा दिइएका विवरणमा भरोसा गर्न सकिंदैन भनेर आलोचकहरूले ख्रीष्टियान धर्मको सुरुमा तर्क गरे। सिरियाली लेखक टाशेन (लगभग इ. सं. ११०-१८०) सुसमाचार पुस्तकहरूको पक्षमा खडा भए। सुसमाचारका पुस्तकहरूलाई कौशलतासाथ मिलाएर चारैवटा विवरणलाई एक बनाएमा ती आपसमा बाझिंदैनन्‌ भनेर तिनले महसुस गरे।

टाशेनले यसरी नै मिलाउन सुरु सरे। तिनले युनानी या सिरियाली कुन भाषा प्रयोग गरे, थाह छैन। जे होस्‌, लगभग इ. सं. १७० मा तिनले आफ्नो काम पूरा गरिसकेका थिए। त्यसलाई थिआटेसारोन भनिन्छ। यो युनानी शब्दको अर्थ “चारमार्फत” हो। परमेश्‍वरबाट प्रेरणा नपाई तयार पारिएको तिनको यो काममा तपाईंले किन चासो लिनुपर्छ?

उन्‍नाइसौं शताब्दीमा आलोचकहरूले पनि सुसमाचारका कुनै पुस्तक इ. सं. दोस्रो शताब्दीभन्दा अघि लेखिएका होइनन्‌ भन्‍ने विचार फैलाउन थाले। त्यसैले सुसमाचारका ती पुस्तकहरूले ऐतिहासिक महत्त्व खासै पाउन सकेनन्‌। त्यसबेलादेखि यता फेला परेका थिआटेसारोन-को पुराना पाण्डुलिपिहरूले सुसमाचारका चारवटा—हो, मात्र चारवटा—पुस्तक इ. सं. दोस्रो शताब्दीको बीचसम्ममा सङ्‌कलनको रूपमा चिरपरिचित भइसकेको र स्वीकार गरिसकिएको थियो भनेर स्पष्ट प्रमाण दिन्छन्‌।

थिआटेसारोन पत्ता लागेपछि अनि त्यसमा भएका अरबी, आर्मेनियाली, युनानी र ल्याटिन भाषाका टिप्पणीहरूले गर्दा बाइबलविद्‌ सर फेड्रीक केन्यनले यस्तो लेखे: “यी खोजहरूले गर्दा थिआटेसारोन के थियो भन्‍ने कुरामा कुनै सन्देह रहेन। यसबाहेक हाम्रा उद्धारकको जीवनसम्बन्धी अन्य सबै विवरणको तुलनामा सुसमाचारका यी चार पुस्तकमा भएका विवरण निर्विवाद सर्वश्रेष्ठ छन्‌ भन्‍ने कुरा लगभग इ. सं. १७० सम्ममा प्रमाणित भयो।”

[चित्रहरू]

टाशेन

अरबीमा थिआटेसारोन

[पृष्ठ ८, ९-मा भएको चार्ट]

इ. सं. ३३

येशूलाई मारियो

इ. सं. ४१

तिर मत्तीको पुस्तक लेखियो

इ. सं. ५८

तिर लूकाको पुस्तक लेखियो

इ. सं. ६५

तिर मर्कूसको पुस्तक लेखियो

इ. सं. ९८

तिर यूहन्‍नाको पुस्तक लेखियो

इ. सं. १२५

राइलान्ड्‌ज 457 (P52)

इ. सं. १४०

तिर एपोक्रिफल लेखोटहरू लेख्न थालियो

इ. सं. १७५

तिर बोदमर 14, 15 (P75)

चौथो शताब्दी

भ्याटिकन 1209

[पृष्ठ १०-मा भएको चित्र]

भ्याटिकन 1209

माथि बताइएको चौथो शताब्दीको पाण्डुलिपि भ्याटिकन 1209 ले देखाएअनुसार सुसमाचारका पुस्तकहरूका शब्दहरूमा अलि-अलि मात्र फेरबदल भएको छ

[स्रोत]

From the book Bibliorum Sacrorum Graecus Codex Vaticanus, 1868

[पृष्ठ ९-मा भएको चित्रको स्रोत]

© The Trustees of the Chester Beatty Library, Dublin