एस्तर ७:१-१०
७ तब राजा र हामान+ रानी एस्तरले लगाएको भोजमा आए।
२ भोजको दोस्रो दिन मद्य पिउने बेला राजाले एस्तरलाई फेरि यसो भने: “रानी एस्तर, तिमी मबाट के चाहन्छ्यौ? तिमीले जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिमी जे चाहन्छ्यौ, त्यो माग! तिमीले मेरो आधा राज्य नै माग्यौ भने पनि म तिमीलाई दिनेछु!”+
३ रानी एस्तरले जवाफ दिइन्: “हे महाराज! यदि मैले हजुरको निगाह पाएकी छु भने र हजुरको मर्जी भए बिन्ती छ, म र मेरा मानिसहरूको+ जीवन बचाइदिनुहोस्।
४ किनकि म र मेरा मानिसहरूलाई मार्न अनि हाम्रो नामोनिसानै मेटाउन+ हामीलाई बेचिएको छ।+ यदि हामीलाई दासदासीको रूपमा मात्र बेचिएको भए म चुप लागेर बस्ने थिएँ। तर हामी नाश भयौँ भने त राजाकै नोक्सानी हुनेछ। त्यसैले म कसरी चुप रहन सक्छु र?”
५ तब राजा आहासुरसले रानी एस्तरलाई भने: “यस्तो दुस्साहस गर्ने को हो? कहाँ छ त्यो?”
६ एस्तरले भनिन्: “हाम्रो विरोधी र हाम्रो शत्रु यही दुष्ट हामान हो।”
त्यसपछि हामान राजा र रानीसामु डरले खङ्ग्रङ्ङै भए।
७ राजा रिसले आगो भए र भोज छोडेर महलको बगैँचामा गए। तब हामान उठे र रानी एस्तरसित आफ्नो जीवनको भीख माग्न थाले किनकि राजाले तिनलाई सजाय दिने निश्चय गरिसकेका छन् भनेर तिनले बुझे।
८ जब राजा महलको बगैँचाबाट भोज-घरमा फर्केर आए, तब उनले हामानलाई रानी एस्तर बसिरहेको पलङको छेवैमा लम्पसार परिरहेको देखे। यो देखेर राजा यसो भन्दै कराए: “अब के यसले मेरै घरमा रानीको इज्जत लुट्न खोज्दै छ?” राजाले यसो भन्न नपाउँदै तिनीहरूले हामानको अनुहार कपडाले छोपे।
९ दरबारका अफिसर हार्बोनाले+ यसो भने: “मोर्दकैलाई मार्न हामानले आफ्नो घरमा ५० हात* अग्लो खम्बा ठड्याएका छन्।+ तिनै मोर्दकै, जसले दिएको खबरले गर्दा राजाको ज्यान जोगिएको थियो।”+ तब राजाले भने: “हामानलाई नै त्यसमा झुन्ड्याइदेओ।”
१० त्यसैले हामानले जुन खम्बा मोर्दकैलाई झुन्ड्याउन भनी तयार पारेका थिए, त्यही खम्बामा तिनीहरूले हामानलाई झुन्ड्याइदिए। तब राजाको रिस शान्त भयो।
फुटनोटहरू
^ लगभग २२.३ मिटर (७३ फिट)। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।