प्रस्थान १५:१-२७

  • मोसा र इस्राएलीहरू विजयगीत गाउँछन्‌ (१-१९)

  • मरियम पनि सँगै गाउन थाल्छिन्‌ (२०, २१)

  • तीतो पानीलाई मीठो बनाइन्छ (२२-२७)

१५  तब मोसा र इस्राएलीहरूले यस्तो गीत गाउँदै यहोवा परमेश्‍वरको प्रशंसा गरे:+ “म यहोवाको गुणगान गाउँछु, उहाँले शानदार जित हासिल गर्नुभएको छ।+ घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।+  २  याह* मेरो बल, मेरो शक्‍ति हुनुहुन्छ; उहाँ नै मेरो उद्धारक हुनुहुन्छ।+ उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्छु;+ उहाँ मेरो पुर्खाका परमेश्‍वर हुनुहुन्छ,+ म उहाँको जयजयकार गाउँछु।+  ३  यहोवा वीर योद्धा हुनुहुन्छ।+ यहोवा हो उहाँको नाम।+  ४  उहाँले फारोका रथहरू अनि उनको फौजलाई समुद्रमा फाल्नुभएको छ,+उनका नामी योद्धाहरूलाई उहाँले लाल समुद्रमा डुबाउनुभएको छ।+  ५  उर्लँदो छालले उनीहरूलाई छोप्यो; ढुङ्‌गा डुबेजस्तै उनीहरू समुद्रको गहिराइमा डुबे।+  ६  हे यहोवा, तपाईँको दाहिने बाहुली कत्ति शक्‍तिशाली;+हे यहोवा, तपाईँको दाहिने बाहुलीले शत्रुहरूलाई सखाप पार्छ।  ७  तपाईँ महान्‌ हुनुहुन्छ, आफूविरुद्ध खडा हुनेहरूलाई परास्त गर्नुहुन्छ;+तपाईँको रिसको आगोमा उनीहरू परालझैँ स्वाहा हुन्छन्‌।  ८  तपाईँको नाकको सासले गर्दा पानी एक ठाउँमा थुप्रियो;ती पर्खालहरूझैँ खडा भए; उर्लेर आएको पानी समुद्रको बीचमै जम्यो।  ९  शत्रुले फुर्ती गऱ्‍यो: ‘म लखेट्‌नेछु र भेट्टाउनेछु! म धीत नमरेसम्म लुटका माल बाँड्‌नेछु! म आफ्नो तरबार थुत्नेछु र तिनीहरूलाई सर्वनाश गर्नेछु!’+ १०  तर तपाईँले सास फुक्नुभयो र समुद्रले उनीहरूलाई निल्यो;+विशाल समुद्रमा उनीहरू गह्रौँ धातुजस्तै डुबे। ११  हे यहोवा, तपाईँजस्तो ईश्‍वर अरू को छ र?+ तपाईँजस्तो महापवित्र अरू को छ र?+ तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+ १२  तपाईँले आफ्नो दाहिने बाहुली पसार्नुभयो र पृथ्वीले उनीहरूलाई निल्यो।+ १३  आफ्नो अटल प्रेमले* गर्दा तपाईँले आफूले उद्धार गरेका मानिसहरूलाई डोऱ्‍याउनुभयो;+आफ्नो शक्‍ति चलाएर तपाईँले तिनीहरूलाई पवित्र ठाउँसम्म डोऱ्‍याउनुहुनेछ। १४  मानिसहरूले सुन्‍नेछन्‌+ र तिनीहरू काँप्नेछन्‌;पलिस्तियाका बासिन्दाहरू आकुलव्याकुल हुनेछन्‌। १५  एदोमका नाइकेहरू* डरले थुरथुर हुनेछन्‌;मोआबका शक्‍तिशाली शासकहरू अत्तालिनेछन्‌;+ कनानका सबै बासिन्दा हताश हुनेछन्‌।+ १६  उनीहरूलाई डर र त्रासले छोप्नेछ।+ तपाईँको बाहुबलले गर्दा उनीहरू तबसम्म ढुङ्‌गाजस्तै अचल हुनेछन्‌,जबसम्म हे यहोवा, तपाईँका मानिसहरू उनीहरूको इलाकाबाट निस्कँदैनन्‌,तपाईँले उद्धार गर्नुभएका मानिसहरू+ उनीहरूको इलाकाबाट उम्कँदैनन्‌।+ १७  तपाईँले आफ्ना जनहरूलाई ल्याउनुहुनेछ र तपाईँको निजी सम्पत्ति आफ्नो डाँडामा रोप्नुहुनेछ,+हे यहोवा, त्यही ठाउँ जसलाई तपाईँले आफ्नो वासस्थान बनाउनुभएको छ;हे यहोवा, त्यही पवित्र स्थान* जुन तपाईँले आफ्ना हातले खडा गर्नुभएको छ। १८  यहोवाले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।+ १९  फारोका घोडा, रथ अनि घोडचढीहरूले पानीमा पाइला टेक्दा+यहोवाले समुद्रको पानी फर्काउनुभयो र उनीहरू सबै डुबे।+तर इस्राएलीहरू भने समुद्रको बीचको सुक्खा जमिनबाट हिँडे।”+ २०  हारुनकी दिदी, भविष्यवक्‍ता मरियमले खैँजडी लिइन्‌ अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै मरियमको पछिपछि लागे। २१  ती पुरुषहरूले गाएको सुनेर मरियमले प्रतिउत्तरमा यसरी गाउन थालिन्‌: “यहोवाको स्तुतिगान गाऔँ किनभने उहाँ विजयी हुनुभएको छ।+ घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।”+ २२  मोसाले इस्राएलीहरूलाई लाल समुद्रबाट डोऱ्‍याएर सुरको निर्जनभूमितिर लगे। निर्जनभूमिमा तीन दिनसम्म यात्रा गर्दा पनि तिनीहरूले पानी भेट्टाएनन्‌। २३  तिनीहरू मारामा* पुगे।+ तर त्यहाँको पानी तीतो भएकोले तिनीहरूले पिउन सकेनन्‌। त्यसैले मोसाले त्यस ठाउँको नाम मारा राखे। २४  मानिसहरू मोसासित यसरी गनगन गर्न थाले:+ “अब हामीले के पिउने?” २५  त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई पुकारे।+ अनि उहाँले तिनलाई एउटा बोट देखाउनुभयो। तिनले त्यसलाई पानीमा फाले र पानी मीठो भयो। यहोवा परमेश्‍वरले तिनीहरूलाई एउटा आज्ञा दिनुभयो र एउटा नियम तयार पारेर त्यहीँ तिनीहरूको परीक्षा लिनुभयो।+ २६  उहाँले भन्‍नुभयो: “यदि तिमीहरूले यहोवा परमेश्‍वरको कुरा ध्यान दिएर सुन्यौ, उहाँको नजरमा जे ठीक छ, त्यही गऱ्‍यौ, उहाँका आज्ञा पालन गऱ्‍यौ र उहाँले दिनुभएका नियमहरू मान्यौ भने+ मिश्रीहरूमाथि मैले ल्याएको कुनै पनि महामारी म तिमीहरूमाथि ल्याउनेछैनँ।+ म यहोवा तिमीहरूलाई निको पार्नेछु।”+ २७  त्यसपछि तिनीहरू एलिम आइपुगे। त्यहाँ पानीका १२ वटा मूल र खजुरका ७० वटा बोट थिए। तिनीहरूले त्यहीँ पानी भएको ठाउँमा पाल टाँगे।

फुटनोटहरू

“याह,” यहोवा नामको छोटो रूप हो।
शब्दावली हेर्नुहोस्‌।
शा., “शेखहरू।” यसले कुलको नाइकेलाई जनाउँछ।
शब्दावली हेर्नुहोस्‌।
यसको अर्थ हो, “तीतो।”